कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ- कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले २७३३ मत पाएका छन्।

दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो।

कांग्रेसभित्र उठेको नेतृत्व परिवर्तनको हुटहुटीलाई केवल एक दिवास्वप्न बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एकपटक कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। उनले सभापतिका अर्का प्रत्यासी शेखर कोइरालालाई पराजित गरेका हुन्।

पहिलो चरणको मतदानमा देउवाले ५० प्रतिशत मत पुर्‍याउन नसकेपछि कोइरालासँग उनको दोस्रो चरणमा प्रतिष्पर्धा भएको हो।

दोस्रो चरणमा २७३३ मत ल्याएर देउवा विजयी भएका हुन्। उनका प्रतिष्पर्धी शेखर कोइरालाले १८५५ मत पाएका छन्।

००३ सालमा डडेलधुराको असिग्राममा जन्मेका देउवा ७५ वर्षका भए। २०२८ सालमै नेविसंघको केन्द्रीय अध्यक्ष बनेका देउवा त्यसयता ५० वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय छन् भने उनी विगत ३० वर्षयता निरन्तर डडेलधुराबाट प्रतिनिधिसभामा विजयी हुँदै आएका छन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने उनी २–२ वटा क्षेत्रबाट निर्वाचित भएका थिए।

देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षका थिए। त्यसयता उनी लगातार शक्तिको केन्द्रमा रहँदै आएका छन्। उनी अहिलेसम्म ५ पटक प्रधानमन्त्री बनिसकेका छन्। २०५२, २०५८, २०६१, २०७४ र २०७८ साल गरी उनी पाँचपटक प्रधानमन्त्री बनेका हुन्।

देउवालाई यसपटक सभापति बन्न कृष्णप्रसाद सिटौला प्रकाशमान सिंह र विमलेन्द्र निधि रामचन्द्र पौडेल र सशांक कोइरालाले साथ दिए। शेखर कोइरालाको हारसँगै कांग्रेसभित्र नेतृत्व परिवर्तनको नाराले पनि पराजय व्यहोरेको छ।

अर्का प्रत्यासी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन्। बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको हो।

Loading...