धरहराको टुप्पाबाट ’नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा

काठमाडौं । राणाकालमा तत्कालिन शासक र राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने इतिहास नयाँ कुरा हैन । नेपाल राज्यको इतिहासदेखि नै धरहरा र सूचनाको सम्बन्ध प्रगाढ रहँदै आएको छ ।

नेपाली इतिहासको यो किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित धरहराको टुप्पोबाट गरेको छ ।

सोका होस्ट आसिफ साहले धरहरा चढेरै चौंथो सिजन प्रसारणको मिति घोषणा गरेका छन् । मंसिर २३ गते राती ८ः३० बजे एपीवान टेलिभिजन च्यानलबाट नेपाल आइडलको चौंथो सिजन प्रसारण सुरु हुने भएको छ ।

धरहरा नै किन ? नेपाल प्रेसको जिज्ञासामा होस्ट साहले भने, ‘यसअघि पनि धरहराबाट विगुल फुकेर जम्मा पार्ने इतिहास थियो । त्यही सोचमा चौंथो सिजनको घोषणा स्तम्भ चढेर गरेका हौं । जेका लागि धरहरा बनेको थियो, हामीले पनि त्यही गरेका हौं ।’

कार्यक्रम निर्देशक लक्ष्मण पौडेल र आफ्नो गफगाफमा यस्तो आइडिया आएको आसिफले बताए । चार महिना चल्ने आइडलको चौंथो सिजनको अडिसनमा झन्डै सय प्रतिस्पर्धी छानिएका थिए भने गाला राउन्डसम्म पुग्दा १२ जनाले प्रतिस्र्धा गर्नेछन् ।

यसपटक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान निर्णायकको रुपमा छन् । अर्को एक प्रश्नमा होस्ट आसिफले पछिल्लो समय नेपाली टेलिभिजनहरुमा बढिरहेका रियालिटी सोले स्वस्थ प्रतिस्पर्धाको सिर्जना गर्ने बताए । उनले भने, ‘हेल्दी कम्पिटिसन आवश्यक पर्छ । यसले अलग्गै ऊर्जा दिन्छ । यो चीज जरुरी पनि छ ।’

Loading...