यी ९ वटा देशहरुमा गएका नेपालीहरु स्वदेश फर्किन नपाउने

मंसिर १६,काठमाडौँ। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा देखापरेको भन्दै सरकारले संक्रमण फैलिने जोखमबात सुरक्षित बनाउन ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको सचिवालयका एक सदस्यले बताएको छ।
गृह मन्त्रालयले यसअघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई ‘अनअराइभल’ भिसा नदिन अध्यागमन विभागलाई निर्देशन दिएको थियो।
छिमेकी देश भारतमा पनि ओमिक्रोन भेरियन्टका दुई जना संक्रमित भेटिएको त्यहाँका अधिकारीहरुले पुष्टि गरि सकेका छन् ,भने दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अहिले विश्वका दुई दर्जन बढी देशमा देखा परिसकेको छ।

 

Loading...