दक्षिण अफ्रिकामा ओमिक्रोनको संक्रमण तीव्र

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य अधिकारीका अनुसार नयाँ संक्रमण पछिल्ला दिनमा निकै बढेको र त्यसको कारक ओमिक्रोन भेरियन्ट हो ।

पछिल्लो दिन ११ हजार ५०० नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन नयाँ संक्रमितको संख्या ८ हजार ५०० थियो ।

तर नोभेम्बरको मध्यसम्म दैनिक संक्रमणदर २००–३०० को हाराहारीमा स्थिर थियो । नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन अहिलेसम्म विश्वका विभिन्न देशमा फैलिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कम्तीमा ३५ देशमा ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन् ।

कोरोना भाइरसको अरु भेरियन्टबाट संक्रमित भएकाहरु पनि फेरि संक्रमित भइरहेका छन् । तर खोपले ओमिक्रोनबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्नबाट भने जोगाउने विश्वास गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नोभेम्बर २६ मा नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको हो । यस्तै गम्भीर चिन्ताको भेरियन्टका रुपमा पनि डब्लुएचओले ओमिक्रोनलाई परिभाषित गरेको छ ।

प्रारम्भीक परीक्षणहरुले यो भेरियन्ट तीव्र गतिमा फैलिँदै गएको देखिएको छ । तर अरु भन्दा यो भेरियन्ट संक्रामक रहे नरहेको पुष्टि हुन भने थप अध्ययनको खाँचो छ र वैज्ञानिकहरुले त्यसमा काम गरिरहेका छन् ।

दक्षिण अफ्रिकासँगै बोत्स्वानामा पनि देखिएको ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरु अहिलेसम्म अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, बेलायत, क्यानडा, चेक गणतन्त्र, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, भारत, घाना, हङकङ, आयरल्याण्डसहितका देशमा भेटिएका छन् ।

यस्तै इजरायल, इटाली, जापान, नेदरल्याण्ड्स, नाइजेरिया, नर्वे, पोर्चुगल, रियुनियन, साउदी अरेबिया, सिंगापुर, आइसल्याण्ड, स्पेन, दक्षिण कोरिया, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, युएई तथा अमेरिकामा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन् ।

ओमिक्रोन झण्डै ५० वटा म्युटेशनबाट विकास भएको हो। यति धेरै म्युटेशन यसअघिका भेरियन्टमा देखिएको थिएन।

Loading...