१२ घन्टा सहमति प्रयास विफल भएपछि बन्दसत्रमा पुगे ओली, केपीको पक्ष र रावलको विपक्षमा चर्को नारावाजी

सौराहा, १२ मंसिर । चितवनमा जारी नेकपा एमाले दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र निर्धारित समयभन्दा ठ्याक्कै १२ घन्टापछि सुरू भएको छ। यस क्रममा अहिले एमाले अध्यक्ष मण्डलको बैठक बस्दैछ।

बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि बाहिर नाराबाजी भएको छ। खासगरी ओली पक्षका समर्थकले ओलीको पक्ष र भीम रावलको विपक्षमा नाराबाजी गरेका छन्।

नाराबाजी गर्नेले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’, ‘नेकपा एमाले जिन्दावाद’, ‘भीम रावल मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन्।

त्यस्तै, ‘वीर सहिद लालसलाम’, ‘पार्टी फुटाउने मतियार होसियार’, ‘केपी बा वी लव यू, पार्टी फुटाउने मतियार होसियार’, ‘केपी ओली जिन्दावाद’ लगायत नारा लगाएका छन्।

सर्वसम्मति गर्नुपर्नेमा जोड दिँदै एमाले कार्यकर्ताले बन्दसत्र स्थल बाहिर केही बेर नाराबाजी गरेका हुन्।

अध्यक्ष मण्डलको बैठक सुरु
एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गरेपछि अध्यक्षमण्डलको बैठक सुरु भएको छ ।

अध्यक्षमण्डलको बैठकले अब महाधिवेशनका आजको कार्यक्रम र निर्वाचन लगायतका प्रक्रियाबारे निर्णय गर्ने छ । ओलीले सहमतिका लागि पेस गरेको प्रस्ताव पनि बन्दसत्रमा पेस गर्ने तयारी छ ।

अध्यक्ष ओलीले दिनभर ३०१ जना केन्द्रीय सदस्यहरूमा कसलाई राख्ने भन्नेबारे छलफल गरेका थिए ।

करिब सहमतिको खाका तयार भएकाले बन्दसत्र सुरु भएको हो ।

Loading...