एमाले महाधिवेशनमा निर्वाचन कार्यतालिकाको सूचना प्रकाशित, भोलि मतदान हुने

सौराहा, १२ मंसिर । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरूको निर्वाचन प्रयोजनका लागि पार्टी विधानको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार  निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सूचनामा भनिएको छ ।

कार्यतालिकाअनुसार राति ११ बजे केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको छ भने उक्त नामावलीमा दाबी विरोधका लागि १५ मिनेटको समय राखिएको छ । राति ११ः३० मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, राति ११ः३० देखि १२ः२० सम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने, राति १२ः३० सम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने र १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको नाम फिर्ताका लागि राति १ः३० देखि २ बजेसम्मको समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति २ः१० मा गरिने र सोमबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।

Loading...