केपी ‘बा’लाई एक लडाकूको चिठी

केपी ‘बा’ लालसलाम !
तपाईको सुस्वास्थको कामना गर्दछु

तपाईको चलिरहेको महाधिवेशनको उदघाटन र बन्दसत्र सफलताको शुभकामना दिन चाहान्छु ।

यस सन्दर्भमा म र मेरा सहयोद्वाहरुलाई तपाईले सम्झिनु भयो । त्यसप्रति आाभारी नै छौ । तथापि हामी पूर्व लडाकु (तपाईकै शब्द सापटी) घाईते, अपाङ्गलाई तपाईको नेतृत्वको पार्टीले जिम्मेवारी लिएर हरेक समस्या समाधान गर्ने आफ्नो सुभेच्क्षा प्रकट गर्नुभयो । तर, पटक–पटक आह्वान गरिरहँदा अपमानित भएको महशुष गरेको छु । तपाई नै शक्तिशाली प्रधानमन्त्री भएको बेला, तपाईलाई उराल्ने थापा कमरेड गृहमन्त्री भएका बेला यो कुरा गर्न कसले रोकेको थियो र ! 

लेखक

तपाईंको जेल जीवन र आस्था अनि पूर्व जनमुक्ति सेनाको त्याग, समर्पण र बलिदान सायद कौडी र किलोमै फरक पर्छ । तपाईले भन्ने गरेको चौध वर्षे जेल जीवनको त्यागको नाफा जहाँ नाप्दै हुनुहुन्छ, कौडीमा । तपाईकै शब्दमा लडाकु, जनमुक्ति सेनाहरुको त्यो भन्दा ठूलो योगदान छ । उनीहरुकै बीरताको गाथाले यो परिर्वतन सम्भव भएको हो । त्यही योगदानले नै तपाईं गणतान्त्रिक नेपालको दुई पटक प्रधानमन्त्री बन्नुभएको हो कामरेड । तर, जुन धरातलबाट र मञ्चबाट भाषण गरेर तपाई भ्रम छर्दै हुनुहुन्छ, यो गर्दा तपाईलाई अलिकति लाज भने लाग्नुपर्ने हो ।

जनमुक्ति सेना र जनयुद्व एक इतिहास हो । जसले राजनैतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा बिभेदमा पारिएका हरेक क्षेत्रहरुमा बिद्रोह ग¥यो । त्यो संगठित विद्रोह मार्फत नै सदियौदेखिको शोषण, अन्याय र दमनको अन्त्य सम्भव भयो । तत्कालिन राजा अर्थात राजतन्त्र फाल्ने हैसियत कसको थियो ? जनमुक्ति सेनाको त्याग, बलिदानले नै राजतन्त्र ढलेको सायद स्वीकार गर्नुहुन्छ होला । तर, तपाई त्यो योगदानलाई भने सधै उडाइराख्नुभएको छ । तपाईको झापा विद्रोह र १० वर्षे जनयुद्ध कदापी एउटै भने थिएन । तपाईको जेल बसाई र जनममुक्ति सेनाको त्याग एउटै थिएन । तपाई एउटा साधारण मानिसको घाँटी रेटेर चौध वर्ष जेल बसेको कुरा सबैका सामु छर्लङ्गै छ ।

नारायणीनदी किनारको बालुवामा पचासौ लाख खर्चेर ठड्याइएको मञ्चबाट तपाईले आह्वान गर्दैमा, जनयुद्धका घाइतेहरुको उपचार खर्चको जोहो गर्छु भन्दैमा त्यो सबै पूरा भइहाल्छ भनेर कसले पत्याउला र । सायद तपाईलाई नै यो बोल्दै गर्दा लागेको थियो होला कि कतै मलाई उडाउन त उडाउँदैनन भनेर भित्री मनमा लाग्यो पनि होला । यस्ता खोक्रा सहानुभूतिले मख्ख पर्ने कमजोर भिड होइन जनमुक्ति सेना ।

देशमा आमूल परिवर्तनका खातिर जीवनलाई बलिबेदीमा चढाएर हिडेका जनमुक्ति सेनाहरु तपाईका खोक्रा सहानुभूतिबाट कदापी भ्रमित हुँदैनन । शरिरमा गोलीका छर्रा बोकेर जनताको भावनालाई सम्मान गर्दै बृहत् शान्ति संझौताको मूल मर्मलाई पकडेको पूर्व जनमुक्ति सेनालाई लेभर कन्ट्याक वा भाडाँका सिपाहि जत्तिको हैसियत दिएर तपाईले जुन अपमान गर्नुभयो र प्रत्येक मञ्चबाट अपमान गरिरहनुभएको छ, त्यो निन्दनीय छ । बा यसले त तपाईको पार्टी र तपाईको नेतृत्वको हैसियत मात्रै उदाङ्गो पारिदिएको छ ।

हिजो एउटै थालीमा भात खाएर, एउटै झोला बोकेर एउटै बाटो हिडेर विश्राम लिएका साथीहरु तपाईको पछि लाग्नुभएको छ । सायद उनीहरुकै उक्साहटमा तपाई यस्तो आश्वासन दिइरहनुभएको छ । यति आश्वासन दिएपछि हिजो जुरुक्कै विद्रोहमा उत्रेकाहरु तपाईको पछाडि आइहाल्छन नि भन्ने उनीहरुको रिपोर्टले तपाई कतै पुलकित भएको पनि हुनसक्छ । अनि तपाईको आश्वासनको र आह्वानको भ्रममा परेर ती योद्धाहरु तपाईको विरोधीमाथि खनिन्छन भन्ने पनि तपाईलाई लागेको होला । यो त तपाईको महाभ्रम मात्रै हो । हामी त फस्यौ ? न त जनवाद न त केन्द्रीयता ? न संगठन, न आचरण, न विचार, न बहस । त्यस्तो अट्टाहास लाग्दो लिडे ढिपी भएको समूहमा गएका साथीहरु नै सायद अहिले रुनु न हाँस्नु भइरहेका छन् ।

अरुका त कुरै छाडौ तपाईले निकै फूर्ती फार्ती गरिरहेको त्यो पार्टी बनाउन सायद तपाईको जतिकै योगदान छ भिम रावल, घनश्याम भुषालहरुको । उनीहरुको बन्दशत्रकामा तपाईले हालत बनाउनुभएको छ । अनि तपाईको पार्टीमा आउँदै नआएका अरु योद्धाहरुको के चिन्ता गर्नुहुन्छ ।

बैचारिक रुपले सकिएर राम, सीता, हनुमानवादतर्फ ढल्किएको तपाईको पार्टी लाईन कतिसम्म टिक्ला सबैले नापिरहेकै छन् । माक्र्सवाद र लेनिनवाद उच्चारण गर्न लजाउने तपाईसँग मालेमावादी विचारले लैंंस जनमुक्तिसेनाका योद्धाहरु कदापी भ्रमित हुँदैनन । सायद तपाईले उनीहरुप्रति दया, माया र सदभाव देखाउनु लज्जास्पद नै हुन्छ । हुनत तपाईं सबै प्रकारका गहन कुराहरुमा मजाक गर्ने कमेडी बा हो । कमेडियन शैलीमा अभ्यस्त तपाईलाई केहीबेरका लागि आत्मरति लिन त यो ठिकै छ ।

हामीलाई राम्रोसँग थाहा छ नि बा, बृहत् शान्ति सझौताअनुसार द्वन्द्वरत पक्षबीच मेलमिलाप गर्न नदिने को हो भन्ने । घाइते लडाकुहरुको उपचार खर्च कटौती गर्ने को हो भन्ने पनि राम्रोसँग थाहा छ नि केपी बा । बहिर्गमित सेना साथीहरुको अलिकति खर्च आउने सुबिधा रोक्ने को हो भन्ने पनि हामीलाई थाहा छ नि केपि बा । को को लडाकु, कुहिएको फर्सी भनेर अपमानित गर्ने को हो भन्ने पनि थाहा छ नि केपि बा । मोहित र मख्ख हुने धेरै उदाहरणबीच गहिरो सम्बन्ध चिनजान छ केपि बा ।

यस्तो मार्मिक अनि गहिरो परिचयकाबीच पनि बेलाबखत सम्झनु हुन्छ । तपाईको नाटकीय माया र सदभावप्रति भने हाम्रो सदभाव छ । हामीलाई गिज्याए पनि, होच्याए पनि तपाईलाई शुभकामना नै छ । तर, हामीलाई त्यसले कता कता लखेटिरहेझैँ लाग्छ । सुकेको घाउ फेरि कोट्याएर आलो घाउ बनाए जस्तै लाग्छ । ‘वी लभ यु’ युवतीहरुका बा मैले नि तपाईलाई बा भनेर संयमित तरिकाबाट नै धेरै कुरा लेखे । कसैको ‘हात छुच्चो र कसैको मुख छुच्चो’ भनेझै तपाईले गरेको सस्तो अपमानजनक भाषण र मैले लेखेको बाध्यात्मक पत्राचारले गहिरो सम्बन्ध नबनोस । यहि आशा गर्दछु ।

धन्यवाद
पूर्व जनमुक्तिसेना नेपाल ब्रिगेड कमाण्डर
मुनाल घले मगर

Loading...