निःशुल्क मधुमेह परीक्षण, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरको सहयोग

मंसिर २,काठमाडौं । मधुमेह पहिचान, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । विश्व मधुमेह दिवस २०२१ को सन्दर्भ पारेर आज महानगरको स्वास्थ्य विभाग र मधुमेही समाजविच सम्झौता भएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट विभागका प्रमुख हरिबहादुर कुँवर र समाजकातर्फबाट अध्यक्ष शिव श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतापछि बोल्दै प्रमुख शाक्यले, सहरका घर घरमा मधुमेहका विरामी भएकोले यसबाट हुने जोखिम घटाउन सबै सजग हुनु पर्ने बताउनुभयो । सुरुमा सुगर देखिन्छ । क्रमशः यसका समस्या बढ्दै जान्छन् । यही कारण परिवारमा आर्थिक समस्या थपिँदै जान्छ । उहाँले भन्नुभयो, ‘रोग लागेपछि उपचार गर्ने अवस्थाले व्यक्ति र परिवारमा समस्या थपिन्छ नै यसबाहेक अस्पतालहरुको क्षमता बढाउनु पर्ने हुन्छ । यो जनशक्ति व्यवस्थापन र आर्थिक दायित्वका दृष्टिले कठिन अवस्था हो । त्यसैले रोगलाई जटिल हुनुअघि नै रोक्न सकिन्छ भन्ने सबैले सोच्नुपर्छ ।’

सबै काम महानगर एक्लैले गर्न नसक्ने बताउँदै उहाँले ‘राजधानीबाहिरका नागरिकले उपचारका लागि काठमाडौँ आउनु नपर्ने र देशका कसैले पनि विशेषज्ञ स्वास्थ्य सेवाका लागि विदेश जानु नपर्ने अवस्था ल्याउन महानगरले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको बताउनुभयो ।’ ‘हामीले मिर्गौला बचाउन अभियान चलाएका र्छाैँ । निःशुल्क डायलायसिस सेवाका लागि नेपाली सेनासँग सहकार्य गरेका छौँ । नेपाल प्रहरीसँग सहकार्य गर्दैछौँ । निःशुल्क एम्बुलेन्स सेवा चलाएका छौँ । सरकारी र सामुदायिक अस्पतालको क्षमता बढाउन आर्थिक सहयोग गरेका छौँ । उपचार प्रविधिमा नयाँ आविष्काहरु खरिद गरिदिएका छौँ ।’ उहाँको भनाइ थियो ।

हरेक बर्षको नोभेम्बर १४ तारिखका दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ ।

मधुमेहका बारेमा सहरबासीले जानकारी पाउनेछन् । निःशुल्क परीक्षण गर्न पाउनेछन् । समाजसँग गरिएको सम्झौताबाट आफ्ना अपेक्षा सुनाउँदै उहाँले, रोग लागेपछि उपचार पाउनुभन्दा रोग लाग्नै नदिनेतर्फ प्रगति हुने आशा व्यक्त गर्नुभयो ।

सम्झौताबमोजिम जेष्ठ नागरिकहरुको परीक्षण निःशुल्क हुनेछ । यसमा चिनी रोग, अक्सिजनको मात्रा, रक्तचाप, परीक्षण निःशुृल्क हुनेछ । यस परीक्षणबाट रोगको लक्षण देखिए थप उपचारका लागि पठाइनेछ । यसरी हुने उपचारमा नाम दर्ता, परामर्श, इसीजी, इको, भिडियो एक्स रे, मुटु, मिर्गौला, कलेजो, प्रोस्टेडलगायतका परीक्षण निःशुल्क हुनेछन् ।

यसका लागि काठमाडौँ महानगरपालिकाले समाजलाई आउँदो असारमसान्तसम्मका लागि १० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ ।

यसबाट महानगरको सहरी स्वास्थ्य क्लिनिकका प्राविधिकहरुलाई मधुमेह र रक्तचाप परीक्षण सम्बन्धी १ दिने तालिम र जनप्रतिनिधि तथा कर्मचारी गरी २ सय जनालाई मधुमेह सम्बन्धी प्रशिक्षण दिइनेछ । यसैगरी मधुमेहको जानकारी दिन हाते पुस्तिका प्रकाशन गरिनेछ ।

कार्यक्रममा समाजका अध्यक्ष श्रेष्ठले, मधुमेही समाजका लागि भवन निर्माण गर्न काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो । त्यसैगरी उपाध्यक्ष भगवती नेपालले, भवन निर्माण गर्ने जग्गा खरिदका लागि अहिलेसम्म करीव ७२ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिनुभयो ।

विश्वका हरेक १० मध्ये १ जनाको अनुपातमा मधुमेहको समस्या रहेको तथ्याङ्ले देखाउँछ ।

 

 

 

Loading...