काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरेका मध्ये इजलासमा फर्किएका ५ जना न्यायाधीशहरु अब भने राजीनामा नआएसम्म इजलासमा नबस्ने भएका छन् ।
सर्वोच्च अदालतका ५ जना न्यायाधीश मंगलबार र बुधबार इजलासमा बसेका थिए । उनीहरुसँग बुधबार नेपाल बार एशोसिएशनले गरेको छलफलपछि उनीहरु पनि अब इजलासमा नबस्ने निष्कर्षमा पुगेका हुन् । सबै खाले मुद्दा नहर्ने निष्कर्षमा आफूहरु पुगेको एक न्यायाधीशले बताए । उनका अनुसार बारले बुधबार बोलाएको छलफलमा सबै न्यायाधीशहरुले आ–आफ्नो धारणा राखेका छन् ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी, कुमार रेग्मी र कुमार चुडाल इजलासमा नबस्ने भएका हुन् । बाँकी न्यायाधीशहरुले भने सुरुदेखि नै इजलास बहिस्कार गरिरहेका छन् ।
अन्य न्यायाधीश र बारको बिचारभन्दा आफूहरुको विचार फरक रहेको पाँचमध्येका एक न्यायाधीशले बताए । उनले भने, ‘यो कुरा बार र अन्य न्यायाधीशहरुले पनि बुझिसकेका छन् । हामीहरुले बारलाई आफ्नो आन्दोलन सफल पार्न जे गर्नुहुन्छ गर्नुहोस् भनेका छौँ ।’
छलफलमा बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशको राजीनामा नै बटमलाईन रहेको बताएको र त्यसमा आफूहरुले १राजीनामा गराउनुहोस्, महाअभियोग लगाउनुहोस् वा कुर्सीबाट निकाल्नुहोस्’ भनेर आफूहरुले शुभकामना दिएको उनको भनाइ छ।