जनगणना सुरु,लिपुलेक र लिम्पियाधुरा पनि समेटिने

 कात्तिक २५, काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बिहीबार आज बात सुरु भएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक जनगणनाका लागि देशैभर गरी कार्यक्षेत्रमा खटिएका छन् । कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो ।
जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने छ  ।

बिहीबार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिने छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ । महानिर्देशक श्रेष्ठका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । सोको आधारमा जनगणना गरिनेछ ।
जनगणनामा लिएका तथ्याङ्क सबै गोप्य रहने छ।
यस वर्षको जनगणनामा सबै गणक दस जोर दुई अध्ययन गरेका बेरोजगार युवालाई सहभागी गराइएको छ । यस अगाडि शिक्षकहरूले गणकको रूपमा कार्य गरे पनि यस वर्ष कतिपय शिक्षकलाई प्रशिक्षकको रूपमा सहभागी गराइने भएको छ।

यसै गरि केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ । त्यसका लागि विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ । गणक जान नसके स्थानहरुमा स्याटलाइटको माध्यमबाट सो क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्याका आधारमा भए पनि तथ्याङ्क निकालिने महानिर्देशकको भनाइ छ  ।

Loading...