सम्पदा प्रवर्धनमा थपिएको इलाननी पार्कको उदघाटन

ललितपुर। ललितपुर महानगरपालिका– १६ वडाको सहयोगमा पुननिर्मित इलाननीस्थित पार्कको समुदघाटन गरिएको छ । १६ वडा र इलाननी टोल सुधारको संयुक्त आयोजनामा ऐतिहासिक हिरण्यवर्ण महाविहार ‘गोल्डेन टेम्पल’ पछाडितर्फ रहेको इलाननी चोकको पुरानो स्वरुपमा परिर्वतन गरिएको पुनर्निर्मित इलाननी पार्कको समुदघाटन ललितपुर महानगरपालिका काका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालले संयुक्त रूपमा गरेका हुन । पुरानो पार्कको स्वरुप र संरचना परिर्वतन गरी आपतकालिन ब्यवस्थापनकालागि ५० हजार लिटर पानीटंकीको ब्यवस्थाकासाथै टोल सुधारकालागि एक तले आकर्षक भवन संरचना सहित पर्यटकीय आकर्षण केन्द्रका रूपमा सुन्दर रमणीय पार्क विकसित गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताएका छन । क्रंक्रिटको शहरको रुपमा तीब्र रुपमा परिणत हुँदै स्थितिमा पार्कको रमणीय वातावरणले खुल्ला ठाउँको महत्व बढ्ने विश्वास व्यक्त गर्दै वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ हरियाली पार्कले मानिसलाई आनन्दित तुल्याउने छ भने वडाको शोभा बढाउनको लागि इलाननी, नागबहाल गगनबाटिका र न्याखाचुक गरि तीन वटा पार्कहरु तयार भएका छन । यी स्वप्न बगैचाहरुको संरक्षणसँगै यसलाई थप बिकसित गर्न मंसीर ३-५ गते महिला उद्यमशीलता केन्द्रीत १६ वडा महिला महोत्सवको आयोजना लगायत विभिन्न हस्तकला तथा साँस्कृतिक गतिविधिहरुको नियमित आयोजनाले आन्तरिक र बिदेशी पर्यटनमा पनि टेवा हुने बिश्वास लिएको छु।’ ‘सो पार्क मर्मत र भवन निर्माणले टोलको वातावरणको शोभा थपिएको छ । टोलमा आवश्यक हुँदा बैठक बस्ने, छलफल गर्ने ठाउँ मिलेको छ । ’ उपभोक्ता समितिका अध्यक्ष राज बज्राचार्यले भन्नुभयो । बज्राचार्यका अनुसार सो पार्क र भवन निर्माणको लागि ३० लाख रुपयाँ खर्च भएको छ । पार्कको उद्घाटन समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर विकासको एउटा महत्वपूर्ण अंङ्गको रुपमा सांस्कृतिक सम्पदाहरु, ७१ पाटीहरुको पुनर्निर्माण जस्तै हरियाली पार्क रहेको बताउँदै इलाननी पार्कको आकर्षण कायम राख्न भौतिक निर्माण नगर्न अनुरोध गरे । उपमेयर गीता सत्यालले पार्क हेर्दा अग्रज पुस्ताहरुको संस्कृती र सम्पदा जिवन्त राख्ने खुला ठाउँ सहित बस्ती बिकास योजनाको स्मरण अनि प्रशंसा गर्नुभयो । उनले इलाननी पार्कको अवलोकन गर्दा आफू जीउँदै स्वर्ग पुगेको झै अनुभूत भएको बताउँदै सो ठाउँलाई स्वर्गको टुक्रासंग तुलना गर्नुभएको थियो । कार्यक्रम ब्यानर देखि उदघाटन ताम्रपत्र, प्रशंसा पत्रहरु तथा मायाको चिनो लगायतमा मौलिक प्रचलित लिपिको प्रयोग गरिएको उक्त कार्यक्रममा टोल सुधार समिती, उपभोक्ता समितिमा रहि योगदान दिएकालाई सम्मानित गरिएको थियो ।
 
 
Loading...