बलिउडका चर्चित स्क्रिप्ट राइटर शफीकको निधन

मुम्बई । बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ ।

शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको करियर सुरुवात गरेका थिए । उनले त्यो समयमा फिल्म ‘दोस्त’को स्क्रिप्ट लेखेका थिए । यो फिल्ममा धर्मेन्द्र र शत्रुघ्न सिन्हा प्रमुख भूमिकामा थिए ।

त्यसपछि उनले सन् १९९० मा रिलिज फिल्म ‘दिलका हीरा’ र ‘इज्जतदार’को स्क्रिप्ट लेखे । फिल्म ‘दिलका हिरा’ धर्मेन्द्र र हेमा मालिनी र ‘इज्जतदार’मा दिलीप कुमार, गोविन्दा र माधुरी दिक्षितको अभिनय थियो ।

उनले मिथुन चक्रवर्ती र दक्षिण भारतीय अभिनेत्री गौतमीको फिल्म ‘प्यार हुआ चोरी चोरी’को पनि स्क्रिप्ट लेखेका थिए ।

आफ्नो करियरमा शफीकले निर्माता बीआर चोपडासँग मिलेर काम गरे । उनले सन् २००३ मा अमिताभ बच्चन, हेमा मालिनी र सलमान खान अभिनित फिल्म ‘बागबान’को संवाद र स्क्रिप्ट लेखेका थिए । यो फिल्म वर्षको सर्वाधिक हिट फिल्म साबित भएको थियो ।

Loading...