नेपालका ८ जना युवा पहिलो पटक नर्वे सेनामा भर्ती

काठमाडौँ । नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो पहिलो हो ।

नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो ।

जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षको कन्ट्रयाक्ट साईन गरेका हुन्छन् ।

सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन् । तर, यस भर्तीमा पेन्सनको भने व्यवस्था हुँदैन । भर्ती हुन अन्तर्वार्ता, शारीरिक व्यायामलगाएतका विभिन्न टेस्ट पास गर्नुपर्ने हुन्छ ।

भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगरले मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको बताए । उनले नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लागेको बताए ।

Loading...