तीन महिना भित्र एक तिहाइ नागरिकलाई खोप लगाउने देउवा सरकारको निर्णय

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई चैत भित्र खोप लगाइसक्ने निर्णय गरेको छ । मंगलबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय गरिएको हो ।

बैठकले असोजभित्र एक तिहाइ जनसंख्यालाई र चैतसम्म सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फ्रन्टलाइनमा खटिने अन्य कर्मचारीलाई समेत ७ दिन भित्रै भत्ता उपलब्ध गराउने लगायत निर्णय भएको सहभागी एक मन्त्रीले जनाएका छन् ।

त्यसैगरी बैठकबाट सरकारको प्रवक्तामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन् ।

देउवा नेतृत्वको मन्त्री परिषदमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, गृह मन्त्री बालकृष्ण खाँड त्यसैगरी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसाल र कानुन, न्याय तथा संसदिय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा मंगलवार बेलुकी  प्रधानमन्त्री देउवा र ४ मन्त्रीहरुले सपथ ग्रहण गरेसंगै कार्यभार सम्हालेका हुन् ।

Loading...