काठमाडौँ। निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । अक्सिजन दिनुपर्ने कोरना संक्रमितका बिरामीका संख्या बढेपछि मन्त्रालयले बुधबार सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल प्लान्ट जडान गर्न निर्देशन दिएको हो ।
मन्त्रालयलाइ अस्पतालले प्लान्ट जडान गरेर त्यसको जानकारी गराउनुपर्ने भनेको छ । प्लान्ट जडान गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले समन्वय गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यसै गरि एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारले अक्सिजन दिन नसक्दा बिरामी भर्ना गर्न नसकिएको बताए। सरकारले तोकेको समयसीमाभित्र अक्सिजन प्लान्ट राख्न सम्भव नभएको थापाको भनाइ छ । उनका अनुशार सरकार आफैंले अक्सिजन व्यवस्था गर्न नसकेपछि अस्पताललाई दोष थोपर्न प्लान्ट राख्नलाई १५ दिन समय दिएको छ। सय बेडका लागि आवश्यक पर्ने प्लान्ट जडान गर्न कम्तीमा १ करोड ३० लाखभन्दा बढी रकम जोहो गर्न पनि समस्या पर्ने र तत्काल भारतबात प्लान्टको सामान ल्याउने कठिन हुने थापाको भनाइ छ ।