काठमाडौं । काठमाडौं उपत्यकामा उपभोग्य वस्तुको पसल बिहान १० बजे सम्म खोल्न पाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सर्वसाधरणले भौतिक दूरी काम गरेर उपभोग्य सरसामान किनमेल गर्ने समयलाई १ घण्टा थप गरी बिहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको बताउनु भयो ।
निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ । अब यस्ता कार्य थोरै व्यक्तिको सहभागितामा घरमै भेला भएर गर्न पराजुलीले आग्रह गरेका छन् ।
यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।