काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरीएको भन्दै सञ्चार सामाग्री समेत जफत गरेको थियो ।
आफ्ना पतिलाई गैरकानुनी रूपमा पक्राउ परेको दाबी गर्दै श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
अदालतको आदेशसँगै पत्रकार श्रेष्ठको हिरासत अवधि अन्त्य भएको छ। उनको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गर्दैआएका थिए ।







