ढल्यो ओलीको सरकार, विश्वासको मत लिने प्रयास असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावमा कतै मत दिन्न भन्नेमा १५ मत परेको छ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

यसैबीच प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।

Loading...