गोठका सबै च्याङ्ग्रा मारेर खाएको हिउँ चितुवालाई गोठालाले च्याङ्ग्राकै खोरमा थुने

मनाङ, ९ वैशाख । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ।

मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले बताए।

बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए।

सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिए पछि खोरभित्रै हिँउ चितुवा थुनिएको हो। हिउँ चितुवा थुनिएसँगै गाउँलेले जिल्ला प्रशासन कार्यालय मनाङ, अन्नपूर्ण संरक्षण क्षेत्र र नेपाल प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा हिँउ चितुवाको उद्धारका लागि नार्पा भूमि च्याखुमा रहेको नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का कर्मचारी पुगेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए।

हिउँ चितुवा उद्धारका लागि घटनास्थलमा पुगेको भए पनि खराब मौसमका कारण कसरी उद्धार गर्ने जानकारी प्राप्त भइनसकेको उनले बताए।

पीडित पक्षले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँग राहत उपलब्ध गराउन माग गरेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले पीडत पक्षलाई राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हिउँ चितुवालाई सम्बन्धित निकायमा लैजाने तयारी गरिएको र उद्धारका लागि आवश्यक सामग्री नहुँदा खोरभित्रै हिउँ चितुवा थुनिएर बसेको जनाइएको छ।

हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो। यो दक्षिण एशिया तथा मध्य एशियाका हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइबीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छ।

लुकेर रहने स्वभावका कारण यिनीहरूको यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन। खुला जङ्गली क्षेत्रमा तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा तथा विश्वका चिडियाघरमा ६०० देखि ७०० को सङ्ख्यामा हिउँ चितुवा रहेको अनुमान गरिएको छ।

Loading...