प्रचण्ड र माधव समूह पनि भयो अलग

काठमाडौं । प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतको निर्णयपछि अलग अलग पूर्वपार्टीमै रहने निर्णय गरेको छ । सर्वोच्चको फैसलालाई अध्ययन गर्दै जाने र तत्कालका लागि पूर्व दुई पार्टीमा रहेका नेताहरु यथाअवस्थामै रहने उनीहरुले निर्णय गरेका हुन् । जसअनुसार अब एमाले र माओवादी केन्द्रको समूह अलग अलग रहने तर सहकार्यमै रहने देखिएको छ । 

प्रचण्ड माधव समूहको स्थायी समितिको बैठकपछि बोल्दै नेता माधवकुमार नेपालले जुनसुकै ठाउँमा रहे पनि वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने र सशक्त बनाउने भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रचण्ड–माधव समूहको स्थायी कमिटीबाट अलग अलग पार्टीमा रहने निर्णय गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले जहाँ बसे पनि वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने काममा लाग्ने बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘जुनसुकै ठाउँमा बसेपनि हामी वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने, सशक्त गराउने, अगाडि बढाउने छौ । हामी कुनै एउटा विषयमा मात्रै सीमित हुने सोचमा छैनौं ।’ उनले आफूहरुको हृदय विशाल रहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने बताए ।

सोमबारको बैठकमा आफूहरुले सबै सम्भावनाहरुको बारेमा छलफल र अध्ययन गरेको भन्दै उनले भने कम्युनिस्ट आन्दोलन सशक्त र प्रभावकारी रुपमा अगाडि बढोस् र जनताका चाहना पूरा होउन् भन्ने उद्देश्य राखेको बताए ।

‘‘वामपन्थी आन्दोलनमा लागेकाहरु, लोकतान्त्रिक परिवर्तनको अभियानमा लागेकाहरु सम्पुर्ण नेपाली जनताको चाहना अनुरुप अगाडि बढ्नुपर्छ’ उनले भने, ‘हामीले तीतो, पिरो मनमा राखेर खाली पुरानो इतिहासका कुरालाई कोट्याएर जान हुँदैन भन्ने कुरा सोचेका छौं ।’

Loading...