बारामा १९ वर्षीय युवकको धारिलो हतियार प्रयोग गरी हत्या

काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो ।

उनी पेन्टरको काम गर्दथे । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनास्थलमा रहेका डिएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ । माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।

मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् । सो सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।

हत्यामा सम्लग्न भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ती व्यक्ति रौतहटको चपुरबाट पक्राउ परेको र उनका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ पर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले भने, ‘शंकास्पद एकजना व्यक्ति पक्राउ परेका छन्, संलग्नताबारे भेरिफाइ गर्न बाँकी छ ।’

Loading...