दैलेखमा चार छोराछोरीसहित एक महिलाले कर्णाली नदीमा हाम फालिन

सुर्खेत, २५ फागुन । दैलेखमा एक हृदयविदारक घटना घटेको छ । दैलेखको आठबीस नगरपालिका वार्ड नं. ३ की ३५ वर्षीय एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हामफालेको बताइएको छ ।

दैलेख प्रहरीले प्रारम्भिक अध्ययनबाट दैलेख निमाइलकी सुकी बडुवाल ४ छोराछोरीसहित कर्णाली नदीमा हामफालेको बुझिएको जनाएको छ । तर, यस घटनाका बारेमा अध्ययन भइरहेको पनि प्रहरीले जनाएको छ । सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए । स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।

बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।

Loading...