सडक विस्तारविरुद्धका अभियन्ता र पीडितहरुको गिरफ्तारी विरुद्ध संघर्षमा उत्रियो नेवा : दे देय् दबू


काठमाडौँ। बालाजु बाइपासमा जारी गैर न्यायीक सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्ताहरूलाई फागुन १२ गते गिरफ्तार गर्दै अर्काे अलोकतान्त्रिक र जनविरोधी काम गरेको भन्दै नेवार समुदायको छाता संगठन नेवा : दे देय् दबू विरोध र भत्सर्ना गरेको छ ।जननिर्वाचित प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र प्रतिगामी कदम सर्वाेच्च अदालतको फैसलाबाट सच्चिँदा–नसच्चिँदै ओली सरकारका केन्द्र सरकार, स्थानीय सरकार, जनप्रतिनिधि र उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार र जनताको उठिबासको काम रोक्का गर्न सर्वोच्च अदालतबाट जारी अन्तरकालिन आदेशलाई समेत ठाडै बेवास्ता गर्ने तथा उल्टै पीडित र अभियन्ताहरूमाथि दमन गरि हिरासतमा लिएर फेरी पनि अलोक तान्त्रिक चरित्र देखाएको दबुले जनाएको छ।
देय् दबूले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै भनेको छ -‘ सरकारबाट सडक विस्तारको नाममा निजी घरहरूमा डोजर लगाउने, स्वबासीहरूलाई उठिबास गर्ने र न्यायिक आवाज उठाउनेहरूमाथि दमन गर्ने क्रम जारी राखेपछि स्थानीय बासिन्दा र अभियन्ताहरूले वर्षाैदेखि संघर्ष गर्दै आएका छन् । संघर्षको सिलसिलामा सरकारी भवन बनाउन बारिएको जस्ताको बार भत्काएको निहुँमा स्थानीय जग्गाधनी तथा पीडित मीन शाही, महेश्वर मानन्धर, संजय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रूक्षित श्रेष्ठसँगै अभियन्ता सुमन सायमि र विरोचन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, बालाजुले गिरफ्तार गर्दै जथाभावी मुद्दा चलाउन लागेको छ ।
विकासको नाममा भएको गैरन्यायिक सडक विस्तार, संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको निजी सम्पत्तिसम्बन्धी हक–अधिकारको हनन, पीडितहरूमाथि निरन्तर दमन र अभियन्ताहरूको गिरफ्तारी आफैमा प्रतिगमन हो । त्यसमाथि प्रहरी वृत्तभित्र पीडितहरू र अभियन्ताहरूलाई आफ्नो मातृभाषाः नेपालभाषामा कुराकानी गरेकै आधारमा धरपकड गरी झुठ्ठा मुद्दा चलाउन निहुँ बनाउनु गैरसंवैधानिक र गैरलोकतान्त्रिक काम हो ।हामी नागरिकहरूको मातृभाषामा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै पीडित र अभियन्ताहरूलाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौं । ’
संगठनले बालाजुलगायत देशका विभिन्न भागमा विकासको नाममा जारी डोजरे विकास, सभ्यता, सम्पदा र प्रकृतिको विनाशसँगै आदिवासी जनताको उठिबासविरुद्ध जारी न्यायपूर्ण संघर्षको क्रममा गिरफ्तारमा परेकाहरुलाई विनाशर्त अभिलम्ब रिहा लगायतका लागि फागुन १४ गते शुक्रवार विहान १० बजे माइतिघरमण्डलामा प्रतिरोध कार्यक्रम गर्ने भएको छ। 

यो संग सम्बन्धित समाचार- 

घरबार गुमेका सडक विस्तार पिडित प्रहरी हिरासतमा , रिहाइको माग गर्दै धर्ना

 

Loading...