सुरक्षा परिषदको बैठक सम्पन्न, विद्रोही नेकपाकाबारेमा छलफल

काठमाडौं, ११ फागुन । प्रधानमन्त्रीले बोलाएको सुरक्षा परिषदको बैठक सकिएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुुवाटारमा बैठक बसेको हो ।

प्रधानमन्त्रीले संसद पुनस्र्थापना भए संकटकाल लगाउने चर्चा चलिरहेका बेला मंगलबार बिहानै सुरक्षा परिषदको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, रक्षामन्त्रालय स्रोतले भने आजको बैठकमा विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बारेमा छलफल भएको जनाएको छ । बैठकमा विप्लवको अन्य गतिविधि र वार्ताका बारेमा समेत समीक्षा गरिएको बताइएको छ । विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत बैठकमा छलफल भएको स्रोतले जानकारी दिएको छ । त्यसैगरी बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा पनि छलफल भएको जनाइएको छ ।

अरुहरुले भने मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूूर्णचन्द्र थापा सहभागी भएको मन्त्रालय स्रोतले जनाएको छ । आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सहभागी भएका थिएनन् । सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहन्छन भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् ।  सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ ।

सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठक सँगै बोलाइएकोले पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको सुरक्षासम्ममा केही छलफल हुने बताइएको छ ।

सहज वातावरण बनेमा वार्ताको लागि सकारात्मक रहेको विप्लवको धारणा आइसकेको अवस्थामा आज सुरक्षा परिषद् र मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा हुनसक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

Loading...