निर्वाचन आयोगमा दाहाल नेपालले बुझाए २९० केन्द्रीय सदस्यको नामावली

काठमाडौँ, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहले निर्वाचन आयोगमा आज आफ्नो पार्टी आधिकारिक रहेको दावी गर्दै प्रमाणस्वरूप २९० केन्द्रीय सदस्यको नामावली बुझाएको छ। आज बुझाईको २९० जनाको नामावलीमा २८७ जनाले मात्र हस्ताक्षर गरेका छन् भने तीन जनाको नाम मात्र राखिएको छ । 

बुधवार केपी ओलीलाई अध्यक्षबाट हटाएको जानकारीसहित २९० जनाको हस्ताक्षर र निर्वाचन आयोगलाई बुझाएको हो ।मंगलबार बबरमहलमा बसेको केन्द्रीय समितिको बैठकमा ३१५ जना सहभागी भए पनि आज भने २९० जनाको मात्र नामावली बुझाइएको छ ।

३ जना भने काम विशेषले हस्ताक्षर गर्ने बेलामा छुटेकाले २८७ जनाको हस्ताक्षरसहित बहुमत पार्टी सदस्यको निर्णय आयोगमा पेस गरेको दाहाल नेपाल समूहका नेताहरुले बताएका छन् । 

आयोगमा पार्टी निर्णय बुझाउन नेता सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान, श्रीराम ढकाल र राजेन्द्र पाण्डे पुगेका थिए । 

हस्ताक्षर बुझाउन गएका नेता राजेन्द्र पाण्डेले तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्य थिए। पछि चार जनालाई मनोनित गरी ४४५ सदस्यीय बनाइए पनि तीन जनाको मृत्यु र ८ जनाले राजनीतिक तथा संवैधानिक नियुक्ति पाएपछि नेकपामा ४३४ केन्द्रीय सदस्य छन् ।

दाहाल-नेपाल समूहले पार्टी सदस्यसमेत नरहने गरी ओलीलाई कारबाही गरेको विवरण सार्वजनिक भएपछि मंगलबार ओली समूहको बैठकले ५५६ जना केन्द्रीय सदस्य थपेको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा अनौपचारिकरूपमा विभाजन भइसकेको छ । पुस ५ यता ओली र दाहाल-नेपाल समूहको समानन्तर बैठकले आफू अनुकुलका निर्णय तीव्र पारेका छन् ।

Loading...