पार्टी केन्द्रीय समिति पनि विघटन गर्दै ओलीले बनाए ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति

काठमाडौं, ७ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद विभाजनको करिव अन्तिम अवस्थामा पुगेको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले एकतर्फी रुपमा पार्टी केन्द्रीय समिति समेत विघटन गर्दै महाधिवेशन आयोजक कमिटि घोषणा गरेको छ ।

आज बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाएको हो ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

आजै दिउसो अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले समेत केन्द्रीय समितिको बैठक बोलाएको छ । दाहाल र नेपाल समूहले पनि ओलीलाई अनुशासनको कारवाही गर्ने अनुमान गरिएको छ ।

पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री ओली आक्रामक रुपमा अघि बढेका छन् । केही दिन अघि संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएका ओलीले त्यस लगत्तै संघीय प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि आजै एकतर्फी रुपमा आफू पक्षका केन्द्रीय सदस्यहरुलाई मात्र बोलाएर केन्द्रीय समिति विघटन गरेका छन र महाधिवेशन आयोजक समिति गठन गरेका छन् । ओलीले अब पूर्व एमाले नै ब्यूताउने प्रतिक्रिया पनि दिइसकेका छन् ।

ओली समूहले आफू पक्षीय केन्द्रीय समितिको नामावली समेत निर्वाचन आयोगलाई बुझाएको छ । देशभरका कार्यकर्ताहरुलाई केन्द्रीय समितिमा राखेर ओली समूहले थप गरिएका केन्द्रीय सदस्यहरुको नाम भरेर नामावली बुझाएको हो ।

Loading...