काठमाडाैं, २६ कार्तिक । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् ।
मन्त्री श्रेष्ठले स्वार्थका कारण नेपाल मेडिकल काउन्सिललाई सिट संख्या निर्धारण गर्न पत्र लेख्न लगाए । मन्त्रालयलाई समेत विपक्षी बनाई दर्ता गरिएको रिट निवेदनको लिखित जवाफ पठाउनुअघि नै उनले नेसनलको सिट निर्धारण गर्न पत्राचार गरे ।
‘उहाँ जसरी पनि हतारहतार सम्बन्धन प्रक्रिया अघि बढोस् र सिट निर्धारण होस् भन्ने योजनामा हुनुहुन्थ्यो,’ मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रीको दबाब थेग्न नसकी सिट निर्धारणका लागि काउन्सिलमा पत्राचार गरेका शिक्षा सचिव मधु रेग्मीले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउने क्रममा भने रिट खारेज गर्न आग्रह गरे ।