लोकसेवा आयोगको सर्भर ह्याक गरेर उपद्रो गर्ने तीन पक्राउ

काठमाडौं, २२ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

लोकसेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षका युवकलाई पक्राउ गरेको हो ।

उनीहरुले सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

Loading...