कौशलटार कार दुर्घटनामा मृत भेटिएकी रियाकी आमाले हत्या आशंकामा दिइन किटानी जाहेरी

काठमाडौं, २१ मंसिर । भक्तपुरको कौशलटारमा भएको दुर्घटनामा मृत भेटिएकी रिया श्रेष्ठको परिवारले छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएको छ । शनिवार राति भएको कार दुर्घटनामा काठमाडौंकी ३० वर्षीया रिया श्रेष्ठको ज्यान गएको थियो ।

आइतबार बिहान क्षतिग्रस्त कारको बाहिर श्रेष्ठको शव भेटिएको थियो । सुरुमा शवको पहिचान नभएपनि पछि उनको सबै परिचय खुलेको थियो । प्रहरीले सिसी क्यामेराको हेरेर कारका चालकलाई पक्राउ गरेपछि सबै खुलेको थियो । यसैबीच रियाका आमाले कारका चालक लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

महानगरीय प्रहरी वृत्त, ठिमीका डीएसपी ऋषिराम कँडेलले किटानी जाहेरी प्राप्त भएको र त्यसका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । डिएसपी कँडेलका अनुसार किटानी जाहेरीमा नियतवस नै छोरी रियालाई दुर्घटनामा पारिएको उनकी आमाले दावी गरेकी छन् ।

मध्यराति बा ८ च ४७५६ नम्बरको कार प्रवीण पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो भने कार्की सामान्य घाइते छन् । पछाडि सवार २६ वर्षीय विजय देउजाको हात र कानमा चोट लागेको छ भने सुदीप थापाको अवस्था पनि सामान्य छ ।

कारको अगाडिपट्टीको भाग फलामको बार भएको पोलमा ठोक्किएर ६० फिटसम्म क्षति पुर्‍याएको छ । यत्रो दुर्घटना हुँदा अरुलाई केही नहुनु शंकास्पद भएको परिवारको दाबी छ ।

अनुसन्धान अधिकृतहरु भने कार्कीले घटनापछि युवतीलाई उठाएर सर्भिस ट्र्याकमा ल्याएर राखेको पाइएको छ । तर, मृत्यु भइसकेको थाहा पाएपछि उनीहरु भागेका थिए ।

अधिकृतहरुका अनुसार हालसम्मको अनुसन्धानबाट दुर्घटनामा शंकास्पद विषय फेला परेको छैन । उनीहरुका अनुसार युवतीले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर अगाडि पुगेको हुनसक्ने देखिएको छ ।

‘पछाडि बस्नेलाई केही भएन, मुख्य क्षति युवती बसेकै साइडतिर देखिन्छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘चालकले चाहिँ बेल्ट लगाएका रहेछन् ।’

हाल चालक कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । युवतीको शवलाई पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट लगिएको छ ।

स्रोतका अनुसार रञ्जित र रिया नगरकोट गएर फर्किएको पाइएको छ । घर फर्किइसकेपछि राधेराधेबाट देउजा र थापाले बोलाएपछि उनीहरु लिन गएका थिए । त्यसक्रममा फर्किँदा दुर्घटना भएको कार्कीको बयान छ ।

उनले कार तीब्र गतिमा रहेको जस्तो लागेपछि मिटरमा हेर्दा अचानक अगाडि गाईको बाच्छा देखेको बताएका छन्, जसलाई जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएको कार्कीको दाबी छ ।

Loading...