नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन गम्भीर खतरामा

काठमाडौं, १५ कार्तिक । मार्क्सवादी एकता अभियानले नेपालमा कम्युनिस्ट आन्दोलन र भावी कार्यदिशा विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

जुम अन्तरक्रियामा बोल्दै वक्ताहरुले अहिले नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुबै खतरामा रहेको बताउँदै अब संसदीय व्यवस्था नमान्ने सबै कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिए । साथै उनीहरुले अन्य देशभक्त, बामपंथी शक्तिहरुसँग पनि मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए । आफूलाई कम्युनिस्ट भन्नेहरुकै नेतृत्वमा पूर्ण बहुमतको सरकार रहेका बेला नेपालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको कुरा उल्लेख गर्दै यो निकै विडम्वना भएको वक्ताहरुले बताए । उनीहरुले राजनीतिक पार्टीमाथि लगाइएका प्रतिबन्ध खारेज हुनुपर्ने बताउँदै यस खालको निरंकुश पञ्चायति शैलीका विरुद्ध अब सबैले बोल्नुपर्ने बताए ।
कार्यक्रममा मार्क्सवादी बुद्धिजीवीहरु श्याम श्रेष्ठ, एकराज भण्डारी, वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुती, नेकपा बोल्सेविकका तर्फबाट रविन्द्र श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीबाट लोकनारायण सुवेदी, नेपाल कम्युनिस्ट पार्टी मालेबाट सिपि मैनाली, नेकपा (क्रान्तिकारी माओवादी) बाट सिपी गजुरेल र राष्ट्रिय जागरण मंचबाट गुणराज लोहनी लगायतका वक्ताहरुले आआफ्नो मन्तव्य दिएका थिए ।

माक्र्सवादी एकता अभियानका संयोजक डा. शम्भु कट्टेलको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा प्रा. रमेश अधिकारीले अवधारणा प्रस्तुत गरेका थिए । अभियानका सचिवालय सदस्य महादीप पोखरेलले सञ्चालन गरेको कार्यक्रमको शुरुमा प्रा. ओम गुरुङले सबैलाई स्वागत गरेपछि कार्यक्रम सुरुवात गरिएको थियो ।

Loading...