कोरोना संक्रमण ह्वात्तै बढेपछि राजधानी नआउन सरकारको आग्रह, काठमाडौमा १० दिनमा थपिए १० हजार बढी

काठमाडौँ । राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो १० दिनमा मात्र १० हजार संक्रमित थपिएपछि राजधानीवासीहरु चिन्तित बनेका छन । काठमाडौमा कोरोना बढेपछि सरकारले सर्वसाधारणलाई राजधानी नआउन आग्रह नै गरेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले सकेसम्म काठमाडौँ नआउनु हुन आग्रह गरेका हुन । उनले आउनैपर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर मात्र आउन आग्रह पनि गरे ।

पछिल्लो समय प्रत्येक दिन देशभर थपिएका नयाँ संक्रमित मध्ये आधा भन्दा धेरै संक्रमित उपत्यकामा भेटिने गरेका छन्। शनिबार मात्र उपत्यकामा १ हजार १ सय ७७ जना सक्रमित थपिए । मन्त्रालयका अनुसार राजधानीमा संक्रमितको दर ५५.५१ देखिएको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको १० दिनको तथ्याङ्क हेर्ने हो भने उपत्यकामा संक्रमण दर ५५.७० पुगेको छ। यही १० दिनको आँकडा हेर्ने हो भने असोज १६ गते सबै भन्दा धेरै ६०.१७ प्रतिशत संक्रमित उपत्यकाका रहेको देखिएको छ। जसमा २ हजार ७ सय २२ जना देशभरबाट सबै भन्दा धेरै नयाँ संक्रमित भेटिए, सोही मध्ये १ हजार ६ सय ३८ जना संक्रमित उपत्यकाका थिए।

Loading...