काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्।
कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेका हुन् ।
नेपाल पत्रकार महासंघको समन्वयमा बिहीबार पीडित पत्रकार(कर्मचारी संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन स्वरुप रिले अनशन सुरु गरेको हो। पाँच दिने अनशनमा पत्रकारका विभिन्न संघसंगठनले ऐक्यवद्धता जनाएका छन्। कारोबार दैनिकका कार्यरत पत्रकार धर्मेन्द्र कर्णको संयोजकत्वमा गठित समितिले श्रमजिवी पत्रकार ऐन लागू नगरेसम्म आफूहरुको अनशन जारी रहने बताएका छन्।
अनसन कार्यक्रमको सुरुवात गर्दै आयोजना गरिएको कोणसभामा बोल्दै आन्दोलनका संयोजक पत्रकार धर्मेन्द्र कर्णलेभने, ‘वर्षौंदेखि अरुका अन्यायका विरुद्ध हामीले समाचार लेख्यौं, त्यही विषयलाई व्यापार बनाएर मिडिया मालिकहरुले कमाए । अहिले ऐन अनुसार सुविधा माग्दा कामबाटै निकाल्ने, अनेक हतकण्डा मच्चाउने काम किन भइरहेछ। के यी कर्पोरेट मिडियाहरु राज्य भन्दा पनि ठूला हुन् र ?’
उनले श्रमजिवी पत्रकार ऐन २०५१ पूर्ण रुपमा कार्यान्वयनका लागि देशभरिका सबै पीडित पत्रकारलाई अनुरोध पनि गरेका छन्। हाल अनशनमा नागरिक, अन्नपूर्ण, कान्तिपुर टेलिभिजन, कारोबार दैनिक र नेपाल आजका पीडित पत्रकार कर्मचारीहरु सहभागी छन्। पाँच दिने रिले अनशनका क्रममा पनि मिडिया मालिकहरुले सहमति नगरे सशक्त आन्दोलनमा जाने कर्णले बताए।
अनशन सुरुवात कार्यक्रममा पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले पत्रकार महासंघकै समन्वयमा भएको आन्दोलनले पूर्ण नपाउँदासम्म नरोकिने बताए ।
‘हामीले सकभर सहमतिमै समस्या समाधान गर्नुपर्छ भन्ने बुझेर पटक(पटक मिडिया हाउसमा वार्ता गरेका छौं,’ उनले भने, ‘तर, उहाँहरु समस्या समाधान गर्न इच्छुक देखिनुभएन। अब हाम्रा साथीहरुले सुरु गरेको आन्दोलन निचोडमा नपुग्दासम्म रोकिँदैन।’
उनले न्यायका लागि लेख्नेहरु नै अन्यायमा पर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै अब पत्रकारहरुले आफ्नो हकहित र सरकारले प्रदान गरेको ऐनअनुसारको सेवा सुविधा लिएर मात्रै आन्दोलन रोकिने बताए।
कानुनी बाटोमा जानका लागि पनि महासंघले सहजिकरण गरिहेकाले आन्दोलन र कानुनी दुवै बाटोबाट पत्रकारका हक हित स्थापनाका लागि अघि बढ्ने उनको भनाइ थियो।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले अपारदर्शी ढंगले कारोबार गर्ने मिडियाहरुले अब व्यवसायको हिसाबकिताब पनि सार्वजनिक गर्नुपर्ने बताए। उनीहरुले मिडियामा अपरादर्शी लगानी भएको भन्दै त्यो लगानी पनि पारदर्शी गर्नुपर्नेमा जोड दिँदै आजसम्म भएको संचित नाफा पनि सार्वजनिक गर्न माग गरेका छन् । मिडिया हाउसहरुले कोरोना महामारी देखाउँदै जवरजस्त जानी जानी पत्रकार सञ्चारकर्मीहरु निकालेर आफू संकटमा परेको जस्तो देखाएर राज्यबाट सहुलियत लिनका लागि बाहानावाजी बनाएको पनि दावी गरे । ठूला मिडियाको विज्ञापन र अन्य कारोबार नघटेको दावी गर्दै यदि साँच्चिकै संकटकमा परेको हो भने सार्वजनिक सुनुवाइ गर्न चेतावनी पनि उनले दिए । तर, हिजो जुन सञ्चारकर्मीहरुको पसिनाले व्यवसाय फस्टाएको हो, नाफा आर्जन गरेको हो, घर गाडी थपेको र व्यवसाय विस्तार गरेको हो तिनै मजदुरहरुलाई महामारीको संकटमा मानवीय संवदेनालाई पनि ख्याल नगरेर निकालिएको भन्दै उनले मिडियामालिकहरुप्रति आक्रोश पोखे ।
‘कोरोनाको बाहानामा पुरानो इख राख्दै अहिले साथीहरुलाई निष्काशन गर्ने, तलब नदिने, महिनौंदेखि अनेक किसिमका स्पष्टीकरण सोधेर मानसिक तनाव दिने काम भइरहेको छ,’ उनले भने, ‘महासंघकै नेतृत्वमा अब आन्दोलन अघि बढ्छ। पत्रकारहरुलाई राज्यले प्रदान गरेको अधिकार जसरी पनि लिनुपर्छ।’
आन्दोलनप्रति प्रेस संगठन, मधेशी पत्रकार समाज, मिडिया नेपाल लगायतका सबै पत्रकार संघ संगठनहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। पीडित पत्रकारहरुले पनि अब कानुनी र सडक संघर्षबाटै अधिकार प्राप्त गर्ने बताएका छन्।
पीडित पत्रकाहरुका तर्फबाट अन्नपूर्ण पोस्टका वरिष्ठ उप(सम्पादक डिल्ली आचार्यले यस्तो महामारीमा हटाउने नियत राखेरै मिडिया हाउसले दुर्गममा सरुवा गर्ने तथा पारिश्रमिक नदिएर मानसिक तनाव दिने काम गरेको बताए।
‘हामीलाई अनावश्यक सरुवा गर्ने, तलब रोक्ने तथा स्पस्टीकरण सोधेर तनाव दिने काम भइरहेको छ। पारिश्रमिक पाएपछि कुन पत्रकारले काम गर्दैन ररु’ उनले भने, ‘तर, हटाउने मनसायले अनेक हत्कण्डा मच्चाउने काम मिडिया हाउसहरुबाट भइरहेको छ। त्यसको मतियार स्वयम् सम्पादकहरु नै भइरहेका छन्।’
समितिले यसअघि बैठक बसी चरणबद्ध आन्दोलनको सुरुवात गरेको छ ।