एमसीसीका दलालहरुले मलाई बदनाम गर्न लागेः भीम रावल

काठमाडौं, २७ भदौ । अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित गराउन लागिपरेकाहरुले आफूलाइ बदनाम गर्न कुप्रचार गरेकाे भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले त्यसप्रति आपत्ती जनाएका छन् । 

नेता रावलले ती मान्छेहरु एमसीसीका दलालहरु भएकाे पनि दावी गरेका छन् । ट्वीटरमा एक पाेष्ट जारी गर्दै नेता रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्छ भनेर नभनेको प्रष्ट पारेका छन् ।

रावलले ट्वीटरमा लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

रावलले थप लेखेका छन्, ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’

नेता रावल एमसीसीमा समावेश गरिएका धेरै बुँदाहरुका बारेमा सुरुदेखि नै खराे आलाेचना गर्दै आएका छन् । उनले एमसीसी हुबहु पारित गरिएमा राष्ट्रघात हुने भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने धारणा पनि राख्दै आएका छन् । अमेरिकाकाे इन्डाे प्यासिफिक रणनीति अन्तर्गतकै एक प्राेजेक्ट एमसीसी भएकाेले असम्लग्न परराष्ट्र नीति लिएकाे नेपालले यसका बारेमा सचेत बन्नुपर्ने उनकाे अडान छ । सत्तारुढ दलकै स्थायी समितिका सदस्य भएर पनि नेता रावलले एमसीसीका सन्दर्भमा वर्तमान सरकारकै आलाेचना गर्दै आएका छन् । 

यसअघि शुक्रबार सम्पन्न भएकाे नेकपाकाे स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएका थिए । नेकपाको स्थायी कमिटीको बैठकले पनि एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको छ । 

सत्तारुढ दल नेकपा भित्र एमसीसीका बारेमा लामाे विवाद चलेपछि त्यसका बारेमा अध्ययन गर्न एक समिति पनि बनाइएकाे थियाे । नेता रावल उक्त समितिका सदस्य समेत रहेका थिए । 

 
Loading...