कोरोनाले केन्द्रीय कारागारका ५ कैदीबन्दीको मृत्यु, जेलमा रहेका २३१ जना संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण केन्द्रीय कारागारमा हालसम्म पाँच जना कैदीबन्दीको मृत्यु भएको छ।

कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार ४०, ५८,६०, ६४ र ६९ वर्षका कैदीबन्दीको कोरोनाका कारण ज्यान गएको छ। भदौ १९ गते कारागारमै मृत्यु भएका ६९ वर्षीय पुरुषको चार दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

बास्कोटाले मृतक सबैमा अन्य दिर्घरोग रहेको बताए। ‘कसैमा मुटु, कसैमा मृगौला सम्बन्धी समस्या थियो’, बास्कोटाले भने। केन्द्रीय कारागारमा हालसम्म ६५ जना कैदीबन्दीमा कोरोना संक्रमण भएको छ। तीमध्ये ३१ जना निको भइसकेका छन्। हालसम्म कैदीबन्दीको कोरोनाले ज्यान गएको केन्द्रीय कारागारमा मात्र हो।

देशभर २३१ जना कैदीबन्दी संक्रमित

कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म देशभर २ सय ३१ जना कैदीबन्दीमा कोरोना संक्रमण भएको छ।

तीमध्ये ८६ जना निको भएको विभागका प्रवक्ता देवर्षी सापकोटाले जानकारी दिए। बाँकी उपचाररत छन्। हालसम्म देशभरका ११ वटा कारागारमा कोराना संक्रमित भेटिएका छन्। तीमध्ये नख्खु, स्याङ्जा, सिन्धुपाल्चोक र नेपालगन्ज कारागार संक्रमणमुक्त भइसकेका छन्।

सक्रिय संक्रमित रहेका कारागारमध्ये पर्सामा १ जना, सिराहामा ८१ जना, सुनसरीमा ३ जना, पाँचथरमा ३ जना, जुम्लामा ४ जना र सप्तरीमा १६ जना उपचारत छन्। कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीमध्ये हालसम्म ९८ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ७० जना निको भएका छन्।

Loading...