एकैसाथ चार बच्चालाई जन्म दिएकी महिलाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा चार बच्चाको जन्म दिने महिलाको आज दिउँसो मृत्यु भएको छ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर-७ जोगियाराकी २२ वर्षीय अरमाना खातुनले मंगलवार साँझ शल्यक्रिया मार्फत एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्।

एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। तर दुर्भाग्य आज उनको मृत्यु भएको छ । अरमानाको फोक्सोमा पानी तथा खुनको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि हिजोदेखि नै चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

प्रसुती व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामको काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी थिइन्।

अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको छ।

शिशुहरुको अवस्था समेत अस्थिर देखिएको र अहिले चारै बच्चाहरुलाई आइसियुमा राखेर उपचार भईरहेको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले जानकारी दिए।

Loading...