कोरोनाबाट थप चार जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले ललितपुर, बाँके, कास्की र काभ्रेमा थप ४ जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । गत साउन ३० गते पाटन अस्पतालको भेन्टिलेटरमा उपचारत रहेका उनको आज बिहान मृत्यु भएको हो ।

बाँकेमा पनि कोरोना संक्रमणबाट गएराति थप एक जनाको मृत्यु भएको छ । निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा उनको सोमबार दिउँसो पोजेटिभ रिपोर्ट आएको थियो ।

कास्कीको पोखरामा तनहुँकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पनि पोखरास्थित कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साउन ३२ गते उपचारका लागि अस्पताल भर्ना गरिएको उनको गएराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सुगर, प्रेसर, लगायतको समस्या देखिएको उनमा निमोनियाको पनि समस्या देखिएको थियो । स्वाब परीक्षण रिपोर्टमा ती महिलामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

काभ्रेमा पनि कोरोना संक्रमणबाट गएराति ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले बताए ।

Loading...