होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो ।
कोभिड १९ को उपत्यकामा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर प्रशासनले कठोर कदम उठाउने आन्तरीक तयारी गरेको सूचना प्राप्त भएको छ । श्रोतका अनुसार अटेर गर्ने व्यवसायीलाई १ महिना कैद गर्ने आन्तरीक तयारी गरिएको हो । शुक्रवारबाट सिडिओ हुमकला पाण्डे आफै अनुगमनमा निस्कने जानकारी प्राप्त भएको छ । उनले बिहीवार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई बोलाएर अनुगमन तिब्र बनाउन निर्देशनसमेत दिएकी छन् । मातहतका सुरक्षा प्रमुखहरुलाई बोलाएर उनले होटल रेस्टुरामा ग्राहक बसालेर खुवाउने व्यवसायीलाई तत्काल कारवाहीको दायरामा ल्याउन आदेश दिएकी हुन् ।
भक्तपुर पोस्ट श्रोतका अनुसार प्रजिअ पाण्डेले कडा निर्देशन दिंदै भनेकी छन् ” मैले होटल रेस्टुरामा ग्राहक बसालेर खुवाएको पाए भने व्यवसायी मात्र होइन, सुरक्षा निकाय पनि कारवाहीको भागिदार हुन्छ । प्रजिअ पाण्डेको कडा निर्देशन संगै बिहीवार साँझबाटै प्रहरीहरु सक्रिय बनेका छन् । उनीहरुले व्यवसायीहरुलाई बिहीवार चेतावनी दिंदै अटेर गरी व्यवसाय गरे जेल हाल्ने सूचना समेत दिएको एक प्रहरी अधिकारीले बताए ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ संक्रमण नियन्त्रणका लागि कारवाहीलाई कडा गरिएको पुष्टि गरिन् । भक्तपुर पोस्ट संग कुरा गर्दै प्रजिअ पाण्डेले अनुगमनलाई तीब्र बनाउने बताउँदै होटल रेस्टुराँ मात्र नभई यो अवस्थामा प्रतिबन्धित गरिएको सबै खाले व्यवसाय संचालन हुनु नहुने स्पष्ट पारिन् । ”सुरक्षित रहेर होम डेलिभरी सेवाको लागि पो होटल खुला भनेको हो नि, ग्राहक नै बोलाएर खुवाउनु हुँदैन । यस्तोमा संक्रामक रोग नियन्त्रण ऐन आकर्षित हुन्छ र १ सय जरिवाना, १ महिला कैद वा दुवै सजाय हुन्छ ।” उनले भनिन् ।
भक्तपुर पोस्ट श्रोतका अनुसार भने होटलमा खान जाने सेवाग्राहीलाई रु १ सय जरिवाना र खुवाउने व्यवसायीलाई १ महिना कैदको आन्तरीक तयारी जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको छ । त्यसैगरी सैलुनमा कपाल काट्न जानेलाई १ सय जरिवाना र कमाल काट्ने व्यवसायीलाई १ महिना कैद गर्ने तयारी गरिएको श्रोतको दावी छ । व्युटिपालर, जिम खाना,खेलकुद क्लब, सभा सम्मेलन, सामुहिक पूजा र फुटपाथ ब्यापारमा पनि पूर्ण बन्देज लगाइने बताइएकाे छ । त्यतिमात्र होइन, खाद्यान्न र औषधी लगायतका अत्यावश्यक सामाग्रीको किनबेचमा पनि सामाजिक दुरी, हात धुने व्यवस्था लगायत सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा कार्यस्थलमै कारवाहीको तयारीमा जिप्रका रहेको श्रोतले जनाएकाे छ ।
पछिल्लो समय कोभिड संक्रमण दर बढेपनि मानिसहरुमा यसप्रतिको डर घटेका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको देखिन्छ । संक्रामक रोग नियन्त्रणका लागि सिडिओलाई मूख्य जिम्मेवारी प्राप्त भएकोले सिडिओको सफलता र असफलतालाई पनि कोभिडसंग जोडिएर हेर्ने गरिएकाले सिडिओ कडा हुनुको बिकल्प छैन । भक्तपुरमा बिहीवार ५ जना संक्रमित थपिए संगै हालसम्म संक्रमितको संख्या १ सय २ पुगेको छ भने यसमध्ये ५३ जना संक्रमित सन्चो भई घर फर्किसकेका स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण कृष्ण बहादुर मिजारले जनाएका छन् ।