एकैदिन ५२५ संक्रमित थपिएसँगै २४,९५७ पुगे कोरोना पोजिटिभ

काठमाडौं । बिहीबार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गाैतमले हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना क्वारेन्टाइनमा रहेकाे जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा १२७ जना नयाँ संक्रमित भेटिएकाे जनाएकाे छ । जसअनुसार काठमाडाैं जिल्लामा मात्र १११ जना छन । त्यसैगरी ललितपुरमा ११ , भक्तपुरमा ५ जना संक्रमित नयाँ थपिएका छन् । त्यस्तै धनुषामा २२, झापामा २, पर्सामा ३९, सुनसरीमा २०, उदयपुरमा १, मोरङमा ८८, इलाममा ४, महोत्तरीमा २०, रौतहटमा २५, सिराहामा २, सप्तरीमा ३१, बारामा १, नुवाकोटमा १ र सर्लाहीमा २६ जनामा कोरोना पुष्टि भएकाे छ।

त्यस्तै चितवनका ११, मकवानपुरका २८, सिन्धुलीका २, काभ्रेका ८, रामेछापका ३, दोलखाका १, सुर्खेतका १, कपिलवस्तुका २१, कास्कीका ३, नवलपरासीका ४, तनहुँका १, प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, बर्दियाका ३, पाल्पाका १, बैतडीका १ तथा डोटीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेकाे जानकारी दिए । पर्सा, महोत्तरी, रौतहट र काठमाडौं गरी चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको उनले बताए ।

नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित नरहेको मन्त्रालयले जानकारी दिएको छ । हाल कोरोना संक्रमित नरहेका ५ जिल्लामा मुस्ताङ, संखुवासभा, मनाङ, डोल्पा र हुम्ला हुन् ।

यसैगरी मन्त्रालयले कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको जनाएकाे छ । बिहीबार थप ४ जनाकाे मृत्यु भएसँगै याे संख्या ९५ पुगेकाे हाे ।

Loading...