काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहोराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । उनी बोहोराको हत्या भएको कोठामा बस्दै आएको प्रहरीको दाबी छ ।उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । आइतबार गोंगबु चोक नजिकै सुटकेशभित्र उनको टाउकोविनाको शव भेटिएको थियो ।
कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको फेला पारेको थियो । सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
यसअघि शवको पहिचान हुन नसकेपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरिए लगत्तै मृतकको सनाखत भएको हो ।