नातामा बलात्कार अभियोग लागेका वडाध्यक्ष पूर्पक्षका लागि जेल चलान

कालिकोट जिल्लाको खाँडाचक्र ६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । बालिका बलात्कार अभियोग लागेका उनी पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले शुक्रवार पूर्पक्षका लागि जेल चलान गरेको हो । नाता पर्ने स्थानीय एक बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा सुनुवाई गर्दै जिल्ला अदालत कालिकोटले पूर्पक्षका लागि जेल चलान गरेको हो ।

पिडित परिवारको जाहेरीपछि वडा अध्यक्ष शाहीलाई गत असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको थियो । पिडितको उमेर अहिले सोर्ह वर्ष पुगेको छ । उनी १३ वर्षको हुँदा नै शाहीले पहिलोपटक जबर्जस्ती करणी गरेका र त्यसपछि पनि धाकधम्की र प्रलाेभनमा पारी जबर्जस्ती करणी गर्दे आएका प्रहरी अनुसन्धानमा खुलेपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

शाहीलाई जबरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाड नाता करणीमा थप १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षतिपूर्ति माग दाबी गर्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको हो ।

Loading...