नक्कली डिएसपी बनेर बजारमा ठग्दै हिड्ने दुई पक्राउ

घोराही, १९ साउन । दाङमा नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाइ पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेकाे दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

पक्राउ परेका मध्ये सुराेज नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेका थिए । साथै उनले मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएकाे समेत बुझिएकाे छ ।

त्यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेका थिए । साथै उनले होटल सञ्चालकलाई अभद्र व्यवहार गरेका बुझिएकाे छ । उनीहरुले यसरी नक्कली परिचय दिएर ठग्न थालेपछि उनीहरुका विरुद्ध जाहेरी परेकाे थियाे ।

जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी उनीहरुका बारेअनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ ।

Loading...