एकाबिहानै पहिरो खस्दा मेलम्चीमा सुतिरहेका ९ मजदुर पुरिए, १ को जीवितै उद्धार

काठमाडौँ । साेमवार बिहानै पहिराे खस्दा मेलम्चीमा सुतिरहेका ९ जना पुरिएका छन् । पुरिएका मध्ये १ जनाकाे जीवितै उद्धार गरिएकाे छ । सिन्धुपाल्चोकको मेलम्ची-११ मा पहिरो खसेकाे हाे । साेमबार बिहान साढे तीन बजेतिर माथिबाट पहिरो खसेकाे र पहिराेमा पुरिएकाहरुको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मेलम्चीका मेयर डम्बर बहादुर अर्यालले ८ जनालाई नै जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको बताएका छन । पहिराेमा पर्नेहरु प्रदेश सरकारको बजेटमा बन्दै गरेको कवर्डहल निर्माणका लागि खटिएका मजदुर हुन् । राति सुतिरहेका बेला टहरामाथिको ढिस्को खसेर उनीहरु पुरिएका हुन् ।

पुरिएका सबै मजदुर जिल्ला बाहिरबाट आएका पुरुष रहेको मेयर अर्यालले जानकारी दिएका छन् । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन्। जिवितै उद्धार गरिएका एक जना भारतीय नागरिक रहेकाे खुलेकाे छ । उनलाइ तीन घण्टाको प्रयासमा जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको मेयर अर्यालले जनाए ।

निर्माणाधीन कवर्डहल नजिकै जस्ताको टहरामा बस्दै आएका मजदुरमध्ये दुईजना भारतीय नागरिक र अरु सातजना वीरगञ्जका बासिन्दा रहेको खुलेको डिएसपी माधवप्रसाद काफ्लेले बताएका छन् ।

घाइते अवस्थामा उद्धार गरिएका व्यक्ति ३५ वर्षका भारतीय नागरिक बारु साह हुन् र उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको डिएसपी काफ्लेले जनाकारी दिए । अरु ८ जनाको उद्धारको काम भइरहेको तर पानी परिरहेकाले समस्या भएको उनले बताए ।

सिन्धुपाल्चोकका गत असार २४ गते राति भोटेकोसी, बुलकुटे र ठाडो खोलामा भीषण बाढी र पहिरो आएको थियाे । उक्त बाढी पहिराेमा परेर वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

Loading...