सञ्जेलमाथि कुटपिट गर्ने २ महिला कर्मचारी बर्खास्त, ५ दिने म्याद थपेर हिरासतमा राखियो

विराटनगर, १८ साउन । भ्रष्टाचारका विरुद्ध खराे बाेल्ने उपसचिव प्रेम सञ्जेललाइ कार्यकक्षमै हातपात गर्ने कर्मचारी बर्खास्त गरिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका उपसचिव सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने करार सेवामा कार्यरत २ कर्मचारीलाई कामबाट बर्खास्त गरेका हुन् ।

शनिबार कार्यकक्षमा छिरेर उनकै कार्यालयमा कार्यरत दुई महिला कर्मचारीले कुटपिट गरेका थिए । विहान करिब ११ बजे कर्मचारी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले सञ्जेलमाथि हातपात गरेका हुन् । उनीहरुले पञ्चिङ मेशिनसहितका सामानले प्रहार गर्दा सञ्जेलको अनुहार र हातमा चोट लागेको थियाे ।

सञ्जेलमाथि हातपात गर्ने दुबै जना महिला कर्मचारीलाइ मोरङ प्रहरीले पक्राउ गरेकाे छ । उनीहरुलाइ प्रहरीले अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । सञ्जेलले आफूमाथि कुटपिट गर्ने कर्मचारी विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । तर, प्रहरीले उनकाे उजुरी लिन मानेन । त्यसपछि सञ्जेलले ज्यानमार्ने उद्याेगकाे उजुरी छाेडेर अभद्र व्यवहारमा जाहेरी दर्ता गराएका थिए । साेही मुद्दामा दुबैजनालाइ आइतबार म्याद थप गरिएको छ ।

पक्राउ परेका महिलाहरुले उपसचिव सञ्जेलले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएका थिए । तर, प्रहरीले भने उनीहरुकाे आरोप प्रमाणित हुने कुनै आधार नभएको बताएकाे छ । शनिबार सञ्जेलमाथि कुटपिट गरेपछि दुई महिलाको तर्फबाट यौन दुर्व्यवहारको जाहेरी दर्ता गराउन ओरेक नामक एक संस्थाले पहल गरेको थियो । तर प्रहरीले आरोप प्रमाणित हुने आधार नहुने बताउँदै त्याे जाहेरी दर्ता गर्न मानेन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का कार्यालय प्रमुखलाई कुटपिट गरेपछि महिलाले दुर्व्यवहारको आरोप लगाएको बताउँछन् । ‘दुर्व्यवहार भएको भए कारवाहीका लागि कानुन थियो’ उनले भने, ‘कार्यालय प्रमुखलाई कार्यकक्षमा कुटपिट गरेपछि आरोप लगाएको देखियो ।’

सञ्जेलले शुक्रबार करारमा कार्यरत नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालिलेका थिए । दाहाल कुटपिटमा संलग्न भएका २ मध्ये नेत्र भट्टराई (निरौला)का बहिनी ज्वाई हुन् ।

Loading...