आफन्तलाई नै बलात्कार गरेको आरोप लागेका प्रहरी एसएसपी झाडीमा लुकेको अवस्थामा पक्राउ

पोखरा, ३१ असार । आफन्तलाइ नै बलात्कार गरेकाे आराेप लागेका सशत्र प्रहरी बलका एक जना एसएसपी पक्राउ परेका छन् । सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बुधबार दिउँसो पोखराबाट पक्राउ परेका हुन् ।

बुधवार दिउँसो ३ बजे एक महिलाले जिल्‍ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा टेलिफोन गरी रूँदै एसएसपीले बलात्कार गरेको मौखिक उजुरी गरेपछि याे घटना बाहिर अाएकाे हाे । ती महिलाकाे उजुरीका अाधारमा परिचालन गरिएकाे प्रहरीले उनलाइ झाडीमा लुकेकाे अवस्थामा पक्राउ गरेकाे हाे । पक्राउ पर्ने एसएसपी अधिकारी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका प्रमुख हुन ।

कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले उजुरी गर्ने महिलालाइ अस्पताल लगेर स्वास्थ्य जाँच गराएकाे र त्यसपछि प्रहरी टोली लामापाटनस्थित नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा पठाएकाे जानकारी दिए ।

प्रहरी टाेली त्यहाँ पुग्दा एसएसपी अधिकारी उनकाे कार्यकक्षमा भेटिएनन । त्यतिबेला उनलाइ खाेज्न डीएसपीको नेतृत्वमा एक टाेली खटिएको थियाे । उक्त टोलीले अधिकारीलाई नभेटेपछि गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालको निर्देशनमा एसपीकाे नेतृत्वमा अर्काे टाेली खट्याे । प्रहरीले व्यापक खाेजी गरेकाे थाहा पाएपछि सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआइजी कविन्द्रमान श्रेष्ठ पनि घटनास्थल पुगे । सोधखोज गर्दा अधिकारी कार्यालय हाताबाट बाहिर नगएको पत्ता लागेकाे र त्यहाँ खोजी गर्दैगर्दा एसएसपी अधिकारी झाडीमा लुकिरहेको अवस्थामा फेला परे । 

प्रहरी स्रोतका अनुसार ती महिला लामो समयदेखि चिनजान भएको मात्र नभई आफन्त नै हुन् । महिलालाई खाना खान बोलाएर बलात्कार गरेको आरोप अधिकारीमाथि छ । ‘उनीहरू आफन्त नै रहेछन् । थप अनुसन्धान भइरहेको छ,’ एसपी श्रेष्ठले भने ।

अर्कै जिल्लामा रहेकी महिलालाई लकडाउनका बेला पोखरासम्म आउने प्रबन्ध एसएसपी अधिकारीले नै मिलाएका थिए । आवासमा खानासँगै लठ्याउने औषधी खुवाएर बलात्कार गरेको ती महिलाले बताएकी छन् ।

एसएसपी अधिकारी मंगलबारमात्र पोखराबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए ।

Loading...