मुस्ताङ, १५ कार्तिक । यस वर्ष मुस्ताङका किसानलले ४२ कराेडकाे स्याउ बिक्री गरेका छन् । नेपालकाे कर्णाली र मुस्ताङलार्इ स्याउकाे पकेट क्षेत्र मानिन्छ ।
मुस्ताङमा याे सिजन किसानका बारीमै पुगेर स्याउ खरिद गर्ने गरिन्छ । साेही अनुसार यसपटक काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका हुन् ।
थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो १०० तोकिएको थियो ।
स्याउको फूल फुल्ने बेलामा जिल्लामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै लगेका कारण गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा झण्डै १६ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिए ।
यस वर्ष जिल्लामा पाँच हजार ३०० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । मुस्ताङमा कृषकले यस वर्ष ४१५ हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए । गत वर्ष जिल्लामा चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको गुप्ताले बताए । टुकुचे, मार्फा, कागबेनी, छुसाङ, मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा स्याउ उत्पादन हुने गरेको छ ।