खोकनामा रोपाइँको क्रममा प्रहरी र स्थानीयवासीबीच झडप र दर्जन बढी अश्रुग्यास प्रहार

काठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्रको दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती ललितपुरकाे खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

प्रस्तावित द्रुतमार्ग फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेती योग्य जमिन खोसिएको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो ।

खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमी बिनास गर्न नहुनेलगायतका माग राखेर स्थानीय विरोधमा उत्रिएका हुन् । आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले धान रोप्न थालेपछि प्रहरी अवरोध गरेको थियो । प्रहरीले लाठीचार्जसमेत गर्‍यो । त्यसपछि स्थानीयले पनि ढुंगामुढा भएको प्रहरीले जनाएको छ ।

स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी निरीक्षक किसन बस्नेतसहित तीनजना प्रहरी घाइते भएकाे प्रहरीले जनाएकाे छ । स्थानीयले  ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै तथा अश्रुग्यास पनि प्रहार गरेको थियो । झडपमा पाँच जना स्थानीय पनि घाइते भएको नेपा: युथ अर्गनाइजेसनका अध्यक्ष श्यामकृष्ण प्रजापतिले बताए ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन २० सेल अश्रुग्यास प्रहार गरिएको जनाएकाे छ। सो क्षेत्रमा शनिबार बिहानैदेखि सशस्त्र प्रहरीसहित ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो । शनिबार दिउँसो करिब १ बजेतिर प्रहरीको अवरोधपछि स्थानीयले ढुंगामुढा गरेका थिए र त्यसपछि स्थिति तनाबमय बनेको थियो ।

फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेतीयोग्य जमिन खोसिएको छ । काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकको जीरो प्वाइन्ट मानिएको सुडोल क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ ।

तर स्थानीयले खेतीयोग्य जमिन मास्न नपाइने अथवा जग्गाको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर विराेध गर्दै आएका छन् । सरकारले यो क्षेत्रका जग्गा धनीलाई क्षतिपुर्ति दिने भने पनि कौडीको भाउमा जग्गाको मूल्य तोकेको स्थानीय किसानको भनाई छ ।

प्रतिआना १० लाखको हाराहारीमा मूल्य रहेको ठाउँमा सरकारले प्रति आना १ लाख ३० हजार मात्र तोकेको बताएको छ । खोकनावासीले आफ्नो पेट पाल्ने माध्यम बनेको जमिन विना क्षतिपूर्ति खोस्न नपाइने भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा सरकारले खेती गर्न रोक लगाएपछि खेतमा किसानहरुले धान रोपेर विरोध प्रदर्शन गरेका हुन् ।

सो अवसरमा स्थानीय किसान महिला पुरुषको साथमा बालबालिका र काठमाडौँ, भक्तपुर, ललितपुर, किर्तिपुरका नेवा: अधिकारकर्मी, अभियन्ताहरु समेत धान रोप्न खेतमा पुगेका थिए ।

 

 

 

 

 

 

फोटो – बुद्ध शरण शाही

Loading...