काठमाडौं, ३० जेठ । युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको, छ ।
युएईमा समस्यामा परेकाहरु १५७ जना नेपाली शुक्रबार (२३ जेठ )मा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका थिए । त्यही टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।
उनलाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन २४ जेठमा मुलपानीको क्वारेन्टिनमा सारियो । त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको अधिकारीले बताए ।
उनलाई आज शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनसँगै चार्टर फ्लाइटमा आएका अरु यात्रुको कन्ट्याक्ट टेसिङ गर्ने बताएको छ ।