तेस्रो वरियताका रेग्मी बने मुख्य सचिव, देउवासँग रहेछ यस्तो कनेक्सन

काठमाडाैं, ७ कार्तिक । सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

पहिलो वरियतामा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वरियतामा तेस्रो भए पनि उनी प्रतिस्पर्धामा सबैभन्दा अघि रहेका थिए ।

विभिन्न राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका रेग्मी नेताहरुको प्रिय सचिवको रुपमा चिनिएका थिए । रेग्मीको प्रधानमन्त्री शेर बहादुर देउवा र देउवा पत्नी आरजु देउवासँग विशेष सम्बन्ध भएकाले उनी प्रतिस्पर्धाको दौडमा अघि रहेको कर्मचारी वृत्तमा चर्चा छ ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ७ कात्तिकमा उमेरहदका कारण अनिवार्य अवकास पाउने भएपछि सरकारले रेग्मीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो। रेग्मी मुख्य सविचमा नियुक्त भए पछि गृह सचिवमा समान्य प्रशासन मन्त्रालयका सचिव मोहन सापकोटलाई पदस्थापन गरेको छ।

त्यसैगरी सरकारले अर्थसचिववमा शंकर अधिकारीलाई नियुक्त गरेको छ। त्यस्तै शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको स्वच्छिक राजीनामालाई पनि स्वीकृत गरेको छ ।

त्यस्तै सरकारले राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पूर्व अर्थसचिव युवराज भुसाललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदले प्राधिकरणका निर्वतमान सिईओ गोविन्द पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै भुसाललाई नियुक्त गरेको हाे । नवनियुक्त सिइअाे भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

Loading...