काठमाडौं, ५ चैत्र । चीनको हुवानबाट फैलिएको कोरोना भाइरस अर्थत् (कोभिड-१९) अहिले विश्वको १६५ देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । कोरोना भाइरसको तीव्र रूपमा फैलिरहँदा विभिन्न देशले संक्रमणलाई समाधान गर्नको लागि विभिन्न सतर्कता अपनाएको छ । स्रोत, साधनले सम्पन्न देशहरुले कोरोना भाइरसको संक्रमण केही समाधान गरेको पनि पूर्ण रूपमा गर्न सकेको छैन । तर नेपाल मात्र त्यस्तो देश हो, जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।
नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ । कोरोना संक्रमण देखा परेको देशभित्र नेपाल पनि समावेश छ । चीनको हुवानबाट फर्किएका एक विद्यार्थीमा कोरोना देखिएको थियो ।
नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकी सबै संक्रमणमुक्त भेटिएका थिए । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ ।