प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान

जनकपुर, ४ चैत । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत मंगलबार बसेको ५७ औं बैठकबाट नामकरण प्रक्रियालाई मतदानमार्फत टुंग्याउन लागिएको हो । प्रदेशको नामकरणका लागि चार प्रस्ताव दर्ता भएकामा पहिलो प्रस्ताव ‘जानकी’ का लागि मतदान सुरु भएको हो ।

मतदान प्रक्रिया सम्पन्न गर्न प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलाई निर्वाचन अधिकृत तोकिएको छ । उनले मतदान प्रक्रिया सम्पन्न गरी मंगलबारै अपराह्न ४ बजे बस्ने अर्को बैठकमा परिणाम सार्वजनिक गरिने सभामुख सरोजकुमार यादवले जनाए । नेकपाका सांसद रामकुमार यादवले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावको पक्षमा दुईतिहाइ मत नपरे अर्को प्रस्तावका लागि मतदान हुनेछन् । १ सय ७ सदस्य रहेको प्रदेशसभामा दुईतिहाइको लागि ७२ जना आवश्यक पर्छ ।

जानकी पारित नभए नेपाली कांग्रेसका सांसद नरेशकुमार यादवले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ का लागि मतदान हुनेछ । उनको प्रस्ताव पनि पारित नभए कांग्रेसकै अर्का सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेस’ नामक प्रस्तावका लागि मतदान हुनेछ । उक्त प्रस्ताव पनि पारित नभए अन्तिममा समाजवादी पार्टी र राजपाको तर्फबाट संयुक्त रूपमा समाजवादी पार्टीका सांसद शैलेन्द्रकुमार यादवले प्रस्ताव गरेको ‘मधेस’ का लागि मतदान हुने सचिवालयले जनाएको छ ।

नामकरणसम्बन्धी प्रस्तावहरूमा मतदान सम्पन्न गरी अन्तिम परिणाम सार्वजनिक गरिसकेपछि राजधानीको प्रस्तावमा मतदान हुनेछ । राजधानीका लागि विभिन्न पाँचवटा प्रस्ताव दर्ता भए पनि जनकपुरलाई राजधानी बनाउने सवालमा सबै दल सहमति जनाइसकेको हुँदा पहिलो मतदानबाटै टुंगो लाग्ने सम्भावना बढी रहेको सचिवालयका सचिव यादवले जनाए ।

Loading...